धनगढी । सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाले अझै ज्यान लिइरहेको तथ्याङ्कले देखाएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत अपराध महाशाखाका अनुसार, २०७६ साल भदौदेखि हालसम्म छाउगोठमा ८ जनाको ज्यान गएको छ भने १ जना महिला बलात्कारको पीडित भएकी छन्।

प्रहरी निरीक्षक सरस्वती अधिकारीका अनुसार, यी घटनाहरूले छाउपडी प्रथाको भयावहता देखाएको छ। उनले भनिन्, “यस्ता घटनाहरू अत्यन्तै चिन्ताजनक छन्। समाजले यसबारे गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ।”

अछाम जिल्लामा मात्रै ३ जनाले छाउगोठमा ज्यान गुमाएका छन्। यस्तै, सोही जिल्लामा एक जना महिला बलात्कारको शिकार भएको प्रहरीको रिपोर्टमा उल्लेख छ।

अन्य जिल्लाहरूमा पनि यस्ता घटनाहरू घटिरहेका छन्। कैलालीमा एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ भने कञ्चनपुरमा सर्पले टोकेर ज्यान गएको छ। बाजुरामा आगलागीका कारण एकै परिवारका आमा र छोराको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक अधिकारीले यस्ता घटनाहरूको समाधानका लागि छाउगोठमै बस्नुपर्ने बाध्यता हटाउनुको विकल्प नरहेको बताइन्। उनले थप भनिन्, “समाजका हरेक तहका व्यक्तिहरूले चेतना अभिवृद्धि गर्नुपर्छ। यस्तो हानिकारक प्रथाको अन्त्यमा सबै मिलेर लाग्न आवश्यक छ।”

सुदूरपश्चिममा अझै गहिरो रूपमा जरा गाडेर बसेको छाउपडी प्रथाले अहिले पनि महिला र किशोरीहरूलाई हिंसाको सिकार बनाइरहेको छ। यस्ता घटना दोहोरिन नदिनको लागि कानुनी कारबाहीसँगै सामाजिक सचेतना पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ।