
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मिडिया हाउसको नाममा नक्कली नोट र लागूऔषधको कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले १३ लाख बराबरको नक्कली नोट र अफिम जस्तो देखिने ३० केजी ६७२ ग्राम लागूऔषध र नक्कली नोट छाप्न प्रयोग भएका विभिन्न उपकरण सहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुधीरराज शाहीले नक्कली नोट र आगूऔषधको कारोबार गर्ने यो गिरोहलाई गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएको बताए । यो कारोबारमा यही ग्रुप मात्र हो कि अरुको पनि संलग्नता छ ? गहिरो अनुसन्धान भइरहेको भन्दै प्रमुख शााहीले थप विवरण अनुसन्धान पछि मात्र भन्न मिल्ने बताए ।
नक्कली नोट तथा लागूऔषधको कारोबार गर्ने मुख्य व्यक्ति जनगर्जन नेटवर्क प्रा.लि.नामक मिडियाका संचालक, कालिकोट नरहरीनाथ गाउँपालिका वडा नं. ४ स्थायी घर भएका ३४ वर्षीया मानबहादुर सहकारी रहेको प्रहरीले जनाएको छ । उक्त कारोबारमा संलग्न अन्य व्यक्तिहरुमा जाजरकोट कुशे गाउँपालिका वडा नं.५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोहि गाउँपालिका खुर्पा बस्ने ३३ वर्षीया राम बहादुर सिंह, जाजरकोट कुशे गाउँपालिका –७ समकोट गमौडी घर भई हाल सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १२ ठकुरी टोलमा डेरा गरी बस्ने ३५ वर्षीया कृष्ण बहादुर वली र प्रेम बहादुर बि.क.रहेका छन् ।
प्रहरीका अनुसार यो लागूऔषध तथा नक्कली नोट कारोवार गर्ने गिरोहलाई पक्राउ गर्ने अपरेसन सोमबारदेखि सुरु गरिएको थियो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. –१० शान्ति टोलमा जाजरकोट कुशे गाउँपालिका की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई ६ हजार नक्कली नोट सहित प्रहरीले पक्राउ गर्यो ।
उनको बयानका आधारमा सोहि दिन जाजरकोट कुशे गाउँपालिका –५ खुर्पा बस्ने ३३ वर्षीया राम बहादुर सिंह र दिलमाया सिंह ठकुरीको डेरा कोठाबाट १२ लाख ३६ हजार नक्कली नोट बरामत गर्यो ।
अनुसन्धानलाई थप अगाडी बढाउँदै प्रहरीले जाजरकोट कुशे गाउँपालिका –७ समकोट गमौडी घर भइ हाल सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १२ मा डेरामा बस्ने ३५ वर्षीया कृष्ण बहादुर वली र ३८ वर्षीया प्रेम बहादुर वि।क।को साथबाट ११ किलो ३७२ मिलिग्राम अफिम जस्तो देखिने गिलो पदार्थसहित दुवै जनालाई पक्राउ गर्यो ।
डीएसपी लक्ष्मी खनालका अनुसार प्रहरीको अनुसन्धान यतिमै रोकिएको छैन । अनुसन्धान गर्ने क्रममा प्रहरीले यसको मुख्य योजनाकार र कारोबारी पत्ता लगाउने प्रयास जारी राखेको उनले जानकारी गराइन् ।
बाँके कोहलपुर इलाका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले नक्कली नोटको कारोबार गर्ने र नोट बनाउने तथा उक्त नोट बनाउने सामान समेतको काम गर्ने ‘जन गर्जन नेटवर्क प्रा।लि।नामक मिडिया हाउसका संचालक समेत रहेका मान बहादुर सहकारीलाई पक्राउ गर्न उक्त मिडिया हाउसको कार्यालयसम्म प्रहरी पुग्यो ।
उक्त मिडियाको कार्यालयबाट ५१ हजार नक्कली नोट र १९ केजी ३०० ग्राम लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला पार्नुका साथै नक्कली नोट छाप्न प्रयोग हुने क्यानोन, प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायतका उपकरणहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ परेका सबैलाई हिरासतमा राखी खोटा मुद्रा र लागुऔषध (अफिम) सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । बुधबार नै उनीहरुको म्याद थप गरेर अनुसन्धान जारी राखिएको डीएसपी खनालले जानकारी गराइन् ।







Facebook Comments