काठमाडौँ । बझाङको केदारस्युँ गाउँपालिका- ४, बागथला बजारस्थित एक गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी भएको छ। स्थानीय पुष्पराज भट्टले सञ्चालन गरेको होनैनाथ गार्मेन्ट उद्योगमा गएराति पौने १ बजेतिर आगलागी भएको हो।

जस्तापाताले छाएको एकतले तीन कोठे कच्ची भवनमा सञ्चालित उद्योग आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए।

प्रहरी र स्थानीयवासीको सहयोगमा राति २ बजेपछि आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाउन अस्थायी प्रहरी पोष्ट बागथलाबाट प्रहरी निरीक्षक हरकसिंह फरालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

विद्युत् सट भएर आगलागी भएको अनुमान गरिएको छ। क्षतिको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।