काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो तथा संविधान जारी भएपछिकी पहिलो निर्वाचित राष्ट्रपतिका रुपमा सेवा पुर्‍याएकी श्रीमती विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट  www.bidyabhandari.com.np मंगलबार सार्वजनिक गरिएको छ।

साइटमार्फत पूर्व राष्ट्रपतिको सार्वजनिक जीवन, राजनीतिक यात्रा, राष्ट्रपतिकालीन भूमिका, अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता, विचार र अभिव्यक्ति, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधन, प्रकाशित लेख–सामग्री तथा महत्वपूर्ण अभिलेख र दस्तावेजहरू एउटै थलोमा संग्रहित र व्यवस्थित गरिएको जनाइएको छ।

यो वेबसाइटले पूर्व राष्ट्रपति भण्डारीको समग्र योगदानलाई दस्तावेजीकरण गर्दै लोकतान्त्रिक मूल्य, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख नीतिहरू तथा अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनमा उनले पुर्‍याएको भूमिकालाई स्मरणीय बनाउन खोजिएको उनको सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ।

समकालीन राजनीति र इतिहासमा चासो राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, पत्रकार तथा आम नागरिकका लागि यो वेबसाइट उपयोगी र सन्दर्भयोग्य स्रोत बन्ने अपेक्षा गरिएको छ।

वेबसाइटमा रहेको सामग्रीहरू समयानुकूल परिमार्जन, थप र अद्यावधिक गरिँदै जाने जानकारी पनि दिइएको छ।