विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले विराटनगरस्थित कोइराला निवास कांग्रेसका लागि गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको बताएका छन् । उनले नेपालको राजनीतिमा कोइराला परिवारले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।

मंगलबार विराटनगर आएका नेता खाँणले बुधबार बिहान कोइराला निवास पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै उक्त विचार व्यक्त गरेका हुन् । कोइराला निवासको भ्रमणलाई राजनीतिक गुटसँग जोडेर नहेर्न आग्रह गर्दै उनले भने, “कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिक स्थल गएको जस्तै हो । यो कुनै गुटको हिसाबले हेर्ने ठाउँ होइन ।”

उनले बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूको भावनात्मक सम्बन्ध आम नागरिकसँग रहेको र उनीहरू प्रातःस्मरणीय महामानव भएको बताए ।

पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै उनले सभापति सफल भए मात्र पार्टी सफल हुने धारणा राखे । उनले १४ औँ महाधिवेशन पनि एक वर्ष थपेरै गरिएको स्मरण गराउँदै १५ औँ महाधिवेशन पनि समयमै सम्पन्न हुने बताए । आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे सोधिएको प्रश्नमा उनले अहिले आफू केन्द्रीय समितिमा रहेको र महाधिवेशन सम्पन्न गराउने भूमिकामा क्रियाशील रहने बताए । उनले भने, “पार्टीको नेता चयन गुटभन्दा माथि उठेर गर्नुपर्दछ ।”

सरकारको कामकारबाहीबारे खाँडले वर्तमान चुनावी जनादेशअनुसार कुनै पनि दलको एकल सरकार बन्न नसक्ने भएकाले गठबन्धन आवश्यक भएको बताए । कांग्रेस र एमालेबीचको गठबन्धन पहिलो पटक नभएको उल्लेख गर्दै उनले विगतमा पनि पटक९पटक सहकार्य भएको स्मरण गराए । सरकारले गरेका केही सकारात्मक कामहरू, जस्तै ‘पढ्दै कमाउँदै’ कार्यक्रम र हरित हाइड्रोजन उत्पादनको योजनाको प्रशंसा गर्दै उनले गठबन्धनभित्रैबाट सरकारका कमीकमजोरी सुधार गर्ने प्रयास भइरहेको जानकारी दिए । उनले भने, “यो गठबन्धनलाई २०८४ सालको चुनावसम्मै लिएर जानु छ । त्यहाँ भएका कमीकमजोरीलाई सुधार्ने हो ।”

पार्टीको अनुशासन समितिले गरेको कारबाहीबारे सोधिएको प्रश्नमा उनले त्यसलाई ठिक वा बेठीक नभन्ने बताउँदै उक्त निर्णय प्रक्रियागत भएको र त्यसमाथि केन्द्रीय समितिले समीक्षा गरेर आवश्यक निर्णय लिने बताए ।