काठमाडौँ । अमेरिकाबाट नेपाली धमाधम डिपोर्ट भइरहेका छन् । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर जेठ २६ मा ३७ जना काठमाडौँ आएका थिए । उनीहरू ओम्नी एयर इन्टरनेसनलको चार्टर विमान मार्फत नेपाल फिर्ता भएका हुन् ।

त्यसयता पनि डिपोर्ट हुने क्रम रोकिएको छैन । जेठपछि पनि डिपोर्ट हुनेको सङ्ख्या २४ जना पुगेको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले बताए । उनले भने, ‘धमाधम डिपोर्ट भएर आउने क्रम चलिरहेको छ ।’

२०२५ जनवरीदेखि अहिलेसम्म १९७ जना डिपोर्ट भएर फर्केको उनले बताए । रिजालले भने, ‘पछिल्लो साढे ६ महिनामा १९७ जना डिपोर्ट भएर फिर्ता हुनुभएको छ ।’

सो अवधिमा अमेरिकाले दुई पटक चार्टर्ड विमानमार्फत नेपालीहरूलाई फिर्ता पठाएको छ । रिजालका अनुसार नियमित उडानबाट फाट्टफुट्ट नेपालीहरू आउने क्रम जारी छ ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले आप्रवासीहरू प्रति कडा नीति अख्तियार गरेको छ । त्यसपछि त्यहाँको कानुन उल्लङ्घन गर्नेहरू धमाधम डिपोर्ट हुन थालेका छन् ।