काठमाडौँ । गत असार २४ गतेको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ ।

अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका थिए ।

नेपाल-चीन सीमाबाट करिब ३५ किलोमिटरमाथि तिब्बती क्षेत्रमा अवस्थित प्यूरेपू हिमनदीमा रहेको सुप्राग्लेसियल ताल अचानक फुट्दा बाढी आएको थियो । बाढीमा परी बेपत्ता भएका २० जनामध्ये १३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार भेटिएकामध्ये एक जनाको मात्रै परिचय खुलेको छ ।

बाढीले रसुवागढीस्थित नेपाल(चीन मितेरी पुल, रसुवागढी सुक्खा बन्दरगाहको ठूलो हिस्सा र सो क्षेत्रका तीनवटा जलविद्युत् आयोजनामा क्षति पुऱ्याएको छ ।भन्सार पासको प्रतिक्षामा रहेका ट्रक, कन्टेनर र विद्युतीय सवारीहरू बगाएको र डुबाएको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १६ किलोमिटर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।