
दार्चुला । दार्चुलामा तेइस जना तुइन तर्दा महाकाली नदीमा खसेर वेपत्ता भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भारत र चीन सङ्ग सीमा जोडिएको ब्याँस गाउँपालिका–२ दुम्लिङ्ग गाउँ र केहि बाहिरी जिल्लाका नागरिक गरी तेइस जना तुइन तर्दा महाकाली नदीमा खसेको वडा अध्यक्ष धिरनसिंह बुढाथोकीले जानकारी दिएका छन् ।
वडा कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०५० साल देखी २०८२ असार ३१ गते सम्म बत्तिस वर्षको अवधीमा दुम्लिङ्ग गाउँका बिस जना र तिन जना अन्तका गरी तेइस जना तुइन तर्दा महाकाली नदीमा खसेर वेपत्ता हुनु भएको छ । तुइनबाट महाकालीमा खसेका सबैको अवस्था अज्ञात छ ।
नेपालको दुम्लिङ्ग र भारतको घट्टेबगड सीमानाकाबाट तुइन मार्फत ओहोरदोहोर गर्ने क्रममा महाकाली नदीमा खसेर हाल सम्म दुम्लिङ्गका सीता बुढाथोकी, हिमशिखा बुढाथोकी, जयसिंह बुढाथोकी, बरुसिंह बुढाथोकी, विनिता बुढाथोकी, लक्ष्मी भण्डारी बुढाथोकी, बिमला जोहारी, सिन्दल भण्डारी, सचिन बुढाथोकी, जसपाल लोहार, भवानसिंह कुवर, किस्मा धामी, देवसिंह धामी, ईन्द्रसिंह धामी, भुपेन्द्रसिंह धामी, कुशलसिंह बुढाथोकी, बसन्ती कामी, रोहित कामी, जयसिंह धामी र नारायण बुढाथोकी वेपत्ता हुनु भएको छ । यस्तै महाकाली नगरपालिकाका बिरा लोथ्याल, हुम्लाका कैलाश लामा, भारतको गर्भाधारका महिमन गब्र्याल समेत तुइनबाट खसेर वेपत्ता हुनु भएको वडा कार्यालय सङ्ग तथ्याङ्क रहेको उनले बताए ।
सोही क्षेत्रमा तुइन मार्फत भारतीय बजार जाने क्रममा मङ्गलबार मात्रै महाकाली नदीमा खसेर तल्लो दुम्लिङ्गका २८ वर्षिय नारायण बुढाथोकी वेपत्ता हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतका अनुसार किनमेलका लागि भारतीय बजार जाने क्रममा तुइनको डोरी चुडिएर उहाँ महाकाली नदीमा खसेर वेपत्ता हुनु भएको हो । दुम्लिङ्गका स्थानीयले सो क्षेत्रको महाकाली नदी माथी अवैधरुपमा तुइन लगाएर आवतजावत गर्ने गरिरहेको पाइएको छ । सो क्षेत्रमा पुल नभएका कारण अवैधरुपमा तुइन लगाउनु पर्ने यहाँका स्थानीय बाध्य छन् । स्थानीयले दुम्लिङ्गमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिदिन सरकार सङ्ग माग गर्नु भएको छ ।
वडा नम्बर २ कै मालगाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भएपनि दुम्लिङ्गबाट झोलुङ्गे पुल सम्म पुग्न तिन घण्टाको पैदल दुरी हिड्नु पर्ने बाध्यता रहेको स्थानीय प्रभात बुढाथोकीले बताउनुभयो । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिङ्कर सडक मालगाउँमा मात्रै पुगेको छ, मालगाउँबाट तिन घण्टाको पैदल दुरीमा दुम्लिङ्ग गाउँ पर्दछ । नेपाल सरकारको तुइन् विस्थापन योजना अनुसार दार्चुलाको लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–६ उकु, ब्याँस गाउँपालिका–२ मालगाउँ, वडा नम्बर ४ को मलघट्टे र वडा नम्बर ६ को बडूगाउँमा नेपाल–भारत जोड्ने नयाँ झोलुङ्गे पुलहरु निर्माण भएका छन् ।
यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अन्तराष्ट्रिय सीमा नदी माथी अवैधरुपमा तुइन लगाउने कार्य दुई देश बिचको सुरक्षा सम्वेदनशिलता र मानिसको ज्यान सङ्ग जोडिएको विषय भएका कारण अवैध तुइन नलगाउन आग्रह गर्नु भएको छ । “सो क्षेत्रमा सुरक्षा निगरानी बढाउनु पर्ने स्थिति सिर्जना भयो, अवैध तुइनको यात्रा नगरी स्थानीय सचेत हुनपर्छ, उनले भने ।”
दुम्लिङ्गमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणका विषयमा लेखापढी भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। सशस्त्र प्रहरी र नेपाल प्रहरीले बेला–बेला तुइन लगाउन प्रयोग गरिने सामानहरु जफत गर्ने लगायतका क्रियाकलापहरु गरिरहेको उनले जानकारी दिए । अहिले पनि ब्याँस गाउँपालिका–२ दुम्लिङ्ग र वडा नम्बर ५ को नाजी क्षेत्रमा अवैधरुपमा महाकाली नदीमाथी तुइन् लगाएर स्थानीयहरु वारपार गर्ने गरेको पाइएको छ । दुम्लिङ्गमा १०५ परिवारको बसोबास रहेको छ ।







Facebook Comments