
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने बताएका छन् । भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट शब्दमा बताए ।
पत्रकार विजयकुमारलाई दिएको एक अन्तर्वार्तामा ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा फर्किनेबारे कुनै सल्लाह नगरेको दाबी गरे । उनले भने, ‘उहाँले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन ।’
ओलीले पार्टीको वैठक बसेर भण्डारीको विषयमा निर्णय लिइने बताए । उनी थप्छन्, ‘उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन । हामीले पठाएको हो । उहाँ हाम्रो क्यान्डिडेट हो । राष्ट्रपति हुने भएपछि पार्टी छोड्नुभयो । पार्टी छोडेर जानुपर्छ । छोड्नुभन्दा अगाडि त उपाध्यक्ष नै हो ।’
ओलीले एमालेमा फर्किनेबारे पूर्वराष्ट्रपतिले अरुसँग गरेको सल्लाहाबारे आफू जानकार नभएको बताए । तर उनले आफूसँऊ अहिलेसम्म कुनै सल्लाह नगरेको उनको भनाइ थियो ।







Facebook Comments