काठमाडौँ । विद्यालय शिक्षा विधेयक जारी नभएपछि नेपाल शिक्षक महासंघले आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।

सरकार र महासंघबीच भएको सहमतिअनुसार, विधेयक जारी नभएपछि आन्दोलनको तयारी गरिएको छ । महासंघका महासचिव तुलाबहादुर थापाले यसै विषयमा शुक्रबार पत्रकार सम्मेलन गर्ने बताएका छन् । “असार १५ गतेभित्रै जारी भइसक्नुपर्ने विधेयक हालसम्म जारी भएन । यसै विषयमा भोलि पत्रकार सम्मेलन गर्दैछौँ । त्यसपछि हाम्रो केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय लिन्छौँ,” उनले भने ।

गत चैत २० गतेदेखि महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरेको थियो । त्यसपछि महासंघसँग गत वैशाख १७ गते ऐन असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धतासहित नौबुँदे सहमति भएको थियो ।

शिक्षामन्त्री रघुजी पन्त, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सो समयभित्र विधेयक पारित गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।  समयमै विधेयक जारी नभएपछि महासंघले साउन २ गते भोलिसम्म ‘पर्ख र हेर’को अवस्थामा बस्ने र त्यसपछि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो ।  

विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमै अड्किएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पन्तले पटकपटक समय माग गरेपछि विधेयक पारित हुन सकेको छैन । पूर्वप्राथमिक शिक्षा (ईसीडी) कार्यकर्तालाई शिक्षक मान्ने/नमान्ने, ईसीडीलाई स्थानीय तहमा राख्ने नराख्ने, आन्तरिक र बाह्य पदपूर्तिको ६०/४० तथा आवधिक बढुवा लगायतका दफाहरूमा सहमति पनि जुट्न सकेको छैन ।

सरकारसँग आफूहरूले विधेयकमा नयाँ कुरा केही नमागेको र पुरानै सहमति तथा प्रतिबद्धताअनुसार विधेयक जारी हुनुपर्ने अडान शिक्षकहरूको छ ।