
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाएको छ। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको बताए।
५ गतेबाट सभापतिको अपिल र हस्ताक्षर अभियान लिएर घरदैलो कार्यक्रम गर्ने पनि उनले बताए। रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध सरकारले साँधेको भन्दै असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो।
अब केन्द्रीय कार्यालय, प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ राखेर अभियान चलाउने बताए। उनले अहिलेसम्म अभियानको लागि सहयोग रकम ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको बताए।
अअब हस्ताक्षर अभियानलाई घरदैलो अभियान बनाउने पनि बोहोराले बताए । “यही साउन ५ गतेदेखि वडा समितिमार्फत हामी हस्ताक्षर संकलनका लागि घरघर जानेछौँ । रोपाइँ चलिरहेको भए खेतमै पुगेर हस्ताक्षर लिनेछौँ,” उनले भने, “सीमा नाकाहरूमा पनि हस्ताक्षर संकलन अभियान विस्तारित गर्छौं । विदेशमा पनि त्यसरी नै हस्ताक्षर संकलन गर्नेछौँ ।”
बोहोराले संकलित तथ्यांक टुँडिखेल वा त्यस्तै स्थानमा सार्वजनिक गर्ने पनि जानकारी दिए ।







Facebook Comments