
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा १ बजे बस्ने भएको छ। बिहीबार मध्यरातिसम्म सचिवालय बैठक चलेपछि ११ बजेका लागि बोलाइएको पोलिटब्युरो बैठक १ बजेका लागि सारिएको हो।
नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ। सचिवालय बैठकले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो। एमालेमा तीन तहका संरचनास स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। सचिवालयलाई हटाएर पदाधिकारीहरुलाई नै स्थायी कमिटी बनाउने एमालेको तयारी छ। केन्द्रीय कमिटीका एकतिहाई सदस्य पोलिटब्युरो रहने भएकाले एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ। हाल एमाले पोलिटब्युरो ९९ सदस्यीय थियो।
आजको पोलिटब्युरो बैठकमा सचिवालय बैठकको निर्णय, केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र विधान महाधिवेशनको बारेमा छलफल हुने छ। उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको प्रस्तावमा उमेर हद र २ कार्यकाल हटाउने, वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारीको संख्या घटाएर ११ राख्ने प्रस्ताव गरेका थिए। पौडेलको प्रस्ताव अनुसार एक अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ५ सचिवको प्रस्ताव गरिएको छ।
हाल एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव गरी १९ पदाधिकारी रहने व्यवस्था छ। तर, पदाधिकारी संख्या १५ राख्नेमा सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिए। यस्तै उपाध्यक्ष पौडेलले केन्द्रीय समितिलाई घटाउने प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ। तर, बैठकले २५१ सदस्य केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ। हाल एमालेको ३०१ जनाको केन्द्रीय कमिटी बनेको छ।
बैठकमा केन्द्रीय सदस्यहरू स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन पाउने र विधान महाधिवेशनको हकमा यस अघिका प्रतिनिधि मात्र सहभागी हुन पाउने व्यवस्थालाई यथावत् राखिएको छ।
यस अगाडि एमालेले जनसंगठनका केन्द्रीय कमिटीमा १९ सदस्यीय पदाधिकारीलाई घटाएर ९ सदस्यीय पदाधिकारी बनाएको थियो। त्यसैगरी ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो, जस अनुसार अधिवेशन भइसकेका छन्।







Facebook Comments