काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबिच भेटघाट भएको छ । पूर्व राष्ट्रपति भण्डारीको बुढानीलकण्ठ नगरपालिकाको भंगालमा रहेको निवासमा शुक्रबार बिहान भएको भेटको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।

करिब एक घण्टा भएको भेटमा डा.कोइरालाले आफूले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आवाज उठाउँदै आएको जानकारी दिँदै त्यसमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए । वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण गर्न सोचे जति नसकेको उनको भनाइ थियो ।

त्यसपछि पूर्वराष्ट्रपति भण्डारीले सुशासनको पक्षमा हुने प्रयासमा आफ्नो साथ रहने बताइकी थिइन् । उनले आफू अब सक्रिय राजनीतिमा आउन लागेकाले डा.कोइरालासँग साथ र समर्थन मागेकी थिइन् ।  डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पूर्व राष्ट्रपति भण्डारी र डा. कोइरालाबिच एक घण्टा भेटघाट भएको पुष्टि गरे । ‘उहाँहरूबिच करिब एक घण्टा आज बिहान कुराकानी भएको हो,’ थपलियाले भने ।