काठमाण्डाैँ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्न ढिलाइ भएको छ। राजनीतिक, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव छपाइमा ढिलाइ हुँदा बैठक प्रभावित बनेको हो।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजेसम्मका लागि सारिएको थियो। दिउँसो २ बजेसम्म बैठक सुरू हुन सकेको छैन।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधानसमन्बन्धी र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।

एमाले सचिवालय बैठक गए राति अबेर सकिएको थियो।

सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना राख्ने निर्णय गरेको छ। यसैगरी चर्चामा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ।

बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ।

जसअनुसार अब एमालेमा तीन तहका संरचना; स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। पार्टी उपाध्यक्ष गुरू बरालका अनुसार लामो छलफलपछि नेताहरू यी विषयमा सहमतिमा पुगेका हुन्।