
काठमाडौं । राप्रपाले सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार पुगेर ज्ञापनपत्र पेस गरेको छ।
लिङ्देन नेतृत्वको टोलीले नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी,मुद्दाको सङ्ख्या र दाबी रकम बढ्दै गएको अवस्थाले पुष्टि गरेको बताए।
उनले बुझाएको पत्रमा भनिएको छ, ‘सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा लाग्छ मन्त्रीहरू एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन् । अझ प्रमुख आयुक्त स्वयंको भ्रष्टाचारको रकमको डिल विदेशमा नै हुने गरेको भन्ने भनाइले पनि नेपालमा हुने भ्रष्टाचारको तह र व्यापकता प्रस्ट हुन्छ ।
भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका कामहरू प्रशस्त हुँदै गर्दा पनि ठुला भ्रष्टाचारका काण्डहरू जस्तै सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको ज्ञापन पत्रमा उल्लेख छ।
राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठुला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन भन्ने कुरामा विश्वास गर्न नसकिने उल्लेख छ। भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन सक्दैन भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ ।







Facebook Comments