काठमाण्डाैँ । नेपाल शिक्षक महासंघले साउन २१ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए विगतको भन्दा कडा आन्दोलनमा जाने चेतावनी दिएको हो । उसले आन्दोलनको स्वरुप र कार्यक्रमहरु पछि सार्वजनिक गर्ने बताएको छ ।  

गत वैशाख १७ गते भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै महासंघले विधेयक पारितका लागि अल्टिमेटम दिएको हो । पत्रकार सम्मेलनमा शिक्षक प्रतिनिधिहरुले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिवद्धताबाट सरकार आफैं पछि हटेको र समयसीमा सकिएको दुई सातासम्म पनि शिक्षकहरुलाई नै दोषी देखाएर सरकार उम्कन खोजेको दाबी गरेका हुन् ।

साउन २१ गतेभित्र विधेयक पारित नभए पुनः आन्दोलनमा जानुको विकल्प नहुने उनीहरुको भनाइ छ ।  सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको बताउँदै उनीहरुले शिक्षकहरुलाई बाधक देखाउँदै शिक्षा समितिमा विधेयक अल्झाउनु गलत भएको तर्क गरे ।  

सहमतिअनुसार, अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया। स्थायी शिक्षकको बढुवा, विभागीय कारबाही, विद्यालय कर्मचारीको व्यवस्थापन, इसीडीका शिक्षकहरुको व्यवस्थापन, ट्रेड युनियन अधिकारलगायतका विषयमा अहिले षडयन्त्र भइरहेको उनीहरुको दाबी छ । लिखित सहमति कार्यान्वयनमा पनि गम्भीर नदेखिनु सरकारको लाचारीपन भएको बताउँदै शिक्षक महासंघले आन्दोलन गर्नुको विकल्प नहुने बताएको हो ।