काठमाडौँ । पर्वतको मोदी गाउँपालिका वडा नं ३ लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता भएका छन् ।

आज बिहान करिब ४ बजेतिर पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएकी हुन् । ३२ वर्षीया बुहारी पवित्राले भने भागेर ज्यान जोगाएकी छन् । सुतिरहेको अवस्थामा पहिरोले घर पुरिँदा उनीहरु दम्पती बेपत्ता भएको गाउँपालिका अध्यक्ष हिरादेवि शर्माले बताइन् ।

उनले भनिन्,‘ उहाँ एक जनाकोघरमा मात्र पहिरो खसेको हाे ।अहिले उनीहरुको खोजीको लागि प्रहरी र स्थानीय परिचालन भइसकेको छ । तर अहिलेसम्म उहाँहरुको अवस्था अज्ञात नै छ ।’

उनका अनुसार घरमा सासुससुरा र बुहारी मात्रै थिए । नातिनातिनी मामा घर गएका थिए । नातिनातिनी घरमा नभएकाले उनीहरु जोगिएको उनले बताइन् । आफूहरु पनि घटनास्थलमा जान लागेको जानकारी दिइन् ।