
काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारी गम्भीर आर्थिक झमेलामा परेका छन् । साझेदारले धोका दिएपछि आफू मुद्दा(मामिलामा फँसिरहेको उनको गुनासो छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले गुनासो पोखेका हुन् । आफ्नो पहुँचको दुरुपयोग गरेर साझेदारले आर्थिक शोषण गरेको तथा मानसिक यातना दिएको उनको आरोप छ । उनले समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुहारेका छन् ।
भण्डारीका अनुसार करिब १८/१९ महिनाअघि आफूलाई एनआरएन दावी गर्ने एक व्यक्तिले ३.५ करोड लगानीमा ३०५ सेयर लिने गरे कम्पनीमा प्रवेश गरेका थिए । उनीसँग भएको करारमा २४ महिना लगानी ननिकाल्ने स्पष्ट उल्लेख भएको भण्डारीले बताएका छन् । कमेडी च्याम्पियन सिजन ३ चलाउन आवश्यक परेको १.५ करोड तत्काल दिने र पछि मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड पुर्याउने मौखिक ‘भद्र सहमति’ भएको उनको भनाइ छ ।
भण्डारीका अनुसार सेयर बाँडफाँटपछि उनीहरू दुईजना कम्पनीको सञ्चालक र बाँकी दुई शेयरधनी साधारण सदस्य रहने गरी सम्झौता भएको थियो । कम्पनीको तर्फबाट गरिने आर्थिक कारोबारका चेकहरुमा भण्डारीको एकल हस्ताक्षर हुने प्रावधान बनाइएको थियो । अनुमानित मुनाफा जोडेर आफूसँग ती साझेदारले ५० लाखको दुईवटा, २५ लाखको एउटा र ३० लाखको तीनवटा गरेर २ करोड १५ लाखको सेक्युरिटी चेक लिएको भण्डारीले बताएका छन् ।
‘कमेडी च्याम्पियन सिजन ३ सकिनासाथ मसँग पैसा कहिले आउँछ, म निस्किन्छु भन्ने बहाना बनाएर सम्झौताविपरीत मलाई पैसाको लागि मानसिक यातना दिन थालियो,’ उनले लेखेका छन् । चेकमा लेखेको पैसा नआएपछि साझेदारले बैंकिङ कसुरमा मुद्दा दायर गरे । आफूलाई मुद्दाको दबाबमा राखेर २ करोड ४० लाख रूपैयाँ असुलिएको भण्डारीले बताएका छन् । यसमा भएको बैंकिङ करोबारको सबै प्रमाण आफूसँग रहेको उनको भनाइ छ ।
कम्पनीका बाँकी शेयर धनीले पनि आफूलाई विभिन्न मुद्दा हालेर हिसाब मागेको भण्डारी बताउँछन् । उनकाअनुसार २।४ करोड अपचलन लगायतको मुद्दा जिल्ला अदालत काठमाडौ र उच्च अदालत पाटनमा चलिरहेको छ । चेकबापत दाबी गरेको रकम लगेर पनि मिलापत्र गर्न नआएको भन्दै उनले पनि साझेदारविरुद्ध आपराधिक लाभको मुद्दा काठमाडौं परिसरमा हाले ।
‘जति गरेपनि उसले लगेको पैसा फिर्ता नगर्ने र जबरजस्ति पेलेरै जाने नियत देखाएपछि मैले बाँकी शेयर धनीलाई सहमत गराएर उसले लगेको २।४ करोडमध्ये बढी गएको ९० लाखको नेपाल सरकारको कम्पनी ऐन अन्तर्गत हुन आउने कर तिरायर मिलापत्र गर्ने सल्लाह भयो,’ भण्डारी भन्छन्, ‘तर अझै पनि मिलापत्र गर्न नआउने, कहिले कार्यक्रम रोक्न मुद्दा हाल्ने, कहिले कम्पनीको खाता रोक्न मुद्दा हाल्ने धम्काउने लगायतको काम गर्ने गरेर कम्पनिको कार्यसम्पादनमा निरन्तर रुकावट गर्ने काम भइरहेको छ ।’
भण्डारीले सिजन ३ को विजेतालाई कार पुरस्कार दिन नसकेकोमा दुस्खमनाउ गरेका छन् । कमेडी च्याम्पियन सिजन २ मा सुनील खड्का विजेता भएका थिए र कार जितेका थिए । सीजी मोटर्स अन्तरगतको नेटा भीको गाडी जिते पनि खडेकाले अहिलेसम्म नपाएका हुन् ।
भण्डारी भन्छन्, ‘यसअघि बिजेतालाई महिना दिन नबित्दै गाडी उपहार दिने ईतिहास थियो हाम्रो, तर यो पटक सिजन ३ को बिजेता कलाकार भाईलाई घोषित पुरस्कार दिन सकिएको छैन । कतिमय विभागको वेतन पनि बाँकी नै छ । समयमा पैसा दिन ठुलै कसरत गर्दा पनि नसकिने अवस्थामा उसले पुर्याएर छाडेको छ ।’
यो विषयमा प्रधान मन्त्री केपी शर्मा ओलीको सचिवालयमा गएर मद्दत मागेको भण्डारीले बताएका छन् । ‘सचिवालय भन्दा माथि पुग्यो पुगेन थाहा भएन । देश बनाउँछु भन्नेलाई मेरो मुद्दा सानो लागेको पनि हुन सक्छ,’ उनले भनेका छन् ।
यो मुद्दालाई सरकार र न्यायालयले गम्भीरताका साथ हेर्न जरुरी रहेको भण्डारीले उल्लेख गरेका छन् । यदि कार्यक्रम बन्द भएमा ११० जनाको रोजगारी गुम्ने भन्दै उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।







Facebook Comments