
पाेखरा । पोखरा महानगरपालिका– १३ घट्टेखोलामा काहुँखोलामा बाढी आउँदा दुइटा घरमा क्षति पुगेको छ। वडाध्यक्ष किरण बरालका अनुसार आइतबार विहानदेखि उद्धारमा खटिएकाले मानवीय क्षति भने हुन पाएन ।
खोलामा बनाइएको बाँध फुटेर आएको बाढीले स्थानीयको दुइटा घरको केही भाग बगाएको बरालले बताए । खोलामा बाढी बढेका बखत अरु घरहरु पनि जोखिममा रहेको उनले बताए ।
‘घट्टेखोलामा बाढीले बगाउँदा दुइटा घरमा क्षति पुगेका छन्, अरु पनि दर्जनौं घर जोखिममा छन्,’ उनले भने, ‘हामीले रातीदेखि नै उद्धारमा काम गरेकाले मानवीय क्षति हुन पाएन ।’
वडाध्यक्ष बरालका अनुसार, आइतबार विहानैदेखि दुइटा डोजर प्रयोग गरेर बाढीको धार परिवर्तन गरेको बताए । खोला नियन्त्रण गर्न बनाइएको बाँध पनि भत्किएको भन्दै उनले घर क्षति भएका स्थानीयलाई राहत र खोला नियन्त्रणका लागि जिल्ला विपद उद्धार समितिमा माग राखेको बताए ।
उनले जिल्ला प्रशासन कार्यालय मातहतको विपद समितिमा निवेदन दिएर बाढीले घर क्षति भएका व्यक्तिलाई तत्काल राहत र खोला नियन्त्रणको माग राखेका छन् ।







Facebook Comments