काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि अझै सहमति जुटेको छैन । गएको असार २२ गते प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र विधेयकमा सहमति जुटाउन समय दिएको थियो ।

समितिका सभापति अम्मर बहादुर थापाले बैठक बसेर सहमति जुटाउनेबारे कुनै जानकारी नआएको बताए । “शिक्षा विधेयकबारे अझै बैठक कहिले बस्ने भन्नेबारे टुंगो लागेको छैन । मन्त्रीज्यूहरू कहिले तयार भएर आउनुहुन्छ, त्यसपछि बैठक हुन्छ,” उनले भने ।

मन्त्रीले पटकपटक समय मागेपछि आएपछि असार १५ गते नै प्रतिनिधिभासभाबाट पारित हुनुपर्ने विधेयक समितिमै थन्किएको छ । पूर्वप्राथमिक शिक्षा (ईसीडी) कार्यकर्तालाई शिक्षक मान्ने/नमान्ने, ईसीडीलाई स्थानीय तहमा राख्ने/नराख्ने, आन्तरिक र बाह्य पदपूर्तिको ६०/४० तथा आवधिक बढुवालगायत विषयमा अझै सहमति जुट्न सकेको छैन ।

नेपाल शिक्षक महासंघले विधेयक पारित गर्न सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ । विगतमा भएका आन्दोलनभन्दा कडारूपमा उत्रिने महासंघको चेतावनी छ । गत चैत २० गतेदेखि महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरेको थियो ।

त्यसपछि महासंघसँग गत वैशाख १७ गते नौबुँदे सहमति भएको थियो । शिक्षामन्त्री रघुजी पन्त, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शिक्षकका असार १५ गतेभित्र विधेयकलाई प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता जनाएका थिए ।