काठमाडौँ। देशभर मनसुनी वायुको प्रभावका कारण आज (सोमबार) आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्र र पहाडी भूभागमा भने भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार, आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानहरूमा पनि यस्तै अवस्था रहनेछ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। देशको उच्च-पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा भने हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ।

विशेषगरी गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित रहेको मौसमविद्हरूले बताएका छन्।

मनसुन सक्रिय रहेको यस अवधिमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक सावधानीका उपायहरू अवलम्बन गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।