काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले कुलिङ अफ पिरियडमा गडबडी भएको हो भने त्यसको जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले दिनुपर्ने बताएका छन् ।

निजामती विधेयकमा भएको गडबडीको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठकमा उनले विधेयक सच्याउन कर्मचारीको कुनै भूमिका नहुने बताए। ‘विधेयक सच्याउनमा कर्मचारीको कुनै भूमिका हुँदैन,’ उनले भने, ‘यसको सम्पूर्ण जिम्मा संसदीय समितकिा सभापति र समिति सचिवालयले लिनुपर्छ।’

कुलिङ अफ पिरियडमा बदनियत राखेर कसैले काम गरेको होलाजस्तो भने आफूलाई नलागेको बताएका उनले मानवीय त्रुटिज भएको हुन सक्ने बताए।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयक पारित हुँदा गडबडी भएको भन्दै संसदीय छानबिन समिति गठन भएको छ। समितिले अनुसन्धान गर्दैछ। यसक्रममा उनले गडबडी सम्बन्धमा कुनै जानकारी नभएको बताएका हुन् ।

मुख्यसचिव अर्यालले राजनीतिज्ञले कर्मचारीलाई विश्वास नगरेको गुनासो पनि गरे । पेशागत हितका लागि गरिएको लबिइङलाई समेत राजनीतिज्ञले अनावश्यक टिप्पणी गरेको भन्दै उनले बताए ।