काठमाण्डाैँ । रूकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक २३ वर्षीया कोइली शाह मृत भेटिएको घटनामा एक जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले उक्त घटनामा पत्रकार परिचन्द्र खत्रीविरूद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए।

उनका अनुसार आत्महत्या दुरूत्साहनमा परिवारले किटानी जाहेरी दिएपछि तीन दिनअघि नै प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो।

‘पत्रकार खत्रीविरुद्ध दुई तीन दिन अगाडि नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ,’ डिएसपी यादवले भने, ‘आरोपित व्यक्ति मोबाइल स्वीच अफ गरी फरार छन्। खोजिरहेका छौं।'

कोइली असार २८ गते बिहान बन्द गरिएको आफ्नै डेरामा मृत फेला परेकी थिइन्।

डिएसपी यादवका अनुसार ढोका खोलेर हेर्दा झुन्डिएको सल (दोपट्टा)सहित उनी भने भुइँमा झरेको अवस्थामा फेला परेकी थिइन्। पोष्टमर्टमपछि शाहको परिवाले शव बुझेर अन्तिम संस्कार  गरि सकेका छन्।