
काठमाडौँ । नेपाली कांग्रेसका ‘सात भाइ’ले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा कांग्रेसका सात पूर्व पदाधिकारीले दुई दलबिचको सात बुँदे सहमतिअनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।
बैठकमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा।शशांक कोइराला तथा पूर्वसहमहामन्त्री तथा वर्तमान कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत सहभागी थिए ।
बैठकपछि पूर्वमहामन्त्री सिटौलाले बैठकले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।
त्यस्तै बैठकमा गठबन्धन सरकारले अझै राम्रो काम गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने गरी विभिन्न स्थानमा बहस गर्ने निष्कर्ष पनि निकालेका छन् । गठबन्धनको भावनाअनुरूप सरकारले काम गर्नुपर्ने र यही गठबन्धनलाई २०८४ को निर्वाचनसम्म निरन्तरता दिनुपर्ने पनि उनीहरूको निष्कर्ष छ ।
यी सात नेताहरूको बैठक यसअघि श्रेष्ठ र कोइराला निवासमा बसिसकेको छ । आज सिंहले संयोजन गरेर बैठक बोलाएका हुन् ।







Facebook Comments