
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन्।
मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए। ‘हाम्रो आन्दोलनको नेतृत्व अब २० वर्ष मेरो कुर्सी नहेर्नु, अर्कोले २० वर्ष त होइन १०/१५ वर्ष अरूलाई तयार गर्छु र छाड्छु’ उनले ओलीलाई लक्षित गर्दै भने, ‘अर्को जमात आजै च्यासलतिर १० वर्ष २० वर्ष होइन। तिमी आजीवन मरणोपरान्त भइराख्नुपर्छ भनेर आरती उतार्ने काम भइरहेको छ। यो हाम्रो आन्दोलनको कस्तो विरोधाभास हो।’
उनले राष्ट्रिय स्वाभिमान बचाउन, संविधान जारी गर्न पनि सकिएको भएपनि घूस नखाने राज्य व्यवस्था बनाउन नसकिएको बताए। उनले भने, ‘त्यत्रो क्रान्तिकारी पार्टी बनाउन सकिँदो रहेछ। घुस नखान सकिँदो रहेनछ। घुस खाने र पार्टी कब्जा गर्नको लागि गुटबन्दी नगर्न नसकिँदो रहेछ। दलाल पुँजीवादले हाम्रो क्रान्तिकारी आन्दोलनलाई सफल पार्न दिएको छैन।’
उनले राजनीति सत्ता केन्द्रित भएको दाबी गरे। उनले थपे, ‘जस्ता पनि गठबन्धन बनाउने र राज्य दोहन गर्ने राजनीति स्थापित भएको छ। यसले जनतामा असन्तुष्टि पैदा गरेको छ। र अराजक पपुलिस्ष्ट हाबी हुँदै छन्। ०८४ सम्म पनि सजिलो छैन अब, समाज उग्र हुँदै छ।’







Facebook Comments