
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको परिणाम डरलाग्दो रहेको बताएका छन् ।
नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले कृषि र खानेपानी सम्बन्धी विषयमा सरकारले पटक पटक बैठक बसेर छलफल गरिरहेको र एउटा निष्कर्ष निकाल्ने चरणमा रहेको बताएका हुन् ।
उनले मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाइँ हुन नसकेको र यो जलवायु परिवर्तनको प्रभाव रहेको बताए । मधेसमा खानेपानीको पनि हाहाकार छ । रोपाइँ गरिएका खेतहरूमा धाँजा फाटेर उत्पादन नै हुन नसक्ने स्थितिमा रहेको उनकाे भनाइ छ ।
मन्त्री अधिकारीले भने, ‘जलवायु परिवर्तनको परिणाम आज अत्यन्त डरलाग्दो अवस्थामा छ । गएको शुक्रबारदेखि नेपाल सरकार हामी विशेष गरी कृषि सम्बन्धी र खानेपानी सम्बन्धी विषयमा पटक-पटक बैठक गरेका छौँ । मुलुकको मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाइँ हुन सकेन । खानेपानीको हाहाकार छ । जमिनहरू धाँजा फाटेर उत्पादन हुन नसक्ने परिस्थिति जलवायु परिवर्तनका कारणले भएको छ ।’ मन्त्री अधिकारीले आवश्यक पर्ने ठाउँमा पानीको अभाव रहेको बताए ।







Facebook Comments