पर्वत : गण्डकी प्रदेशमा विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदाम घर गण्डकी प्रदेश सरकार मातहत आएको छ।

शुक्रवार पोखरामा आयोजित एक कार्यक्रमकाबीच नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उक्त गोदाम घर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन्। सो अवसरमा बोल्दै गृहमन्त्री लेखकले जलवायु परिवर्तनका कारण मानव समुदायमा आउने विपद् र जनधनको क्षति, सामाजिक र आर्थिक पक्षलाई प्रतिकार्य राहत उपलब्ध गराउन आपत्कालीन गोदाम घर निर्माण गरिएको बताए।

बाढी पहिरोसँगै भूकम्प लगायतका विपत्तिमा प्रतिकार्यमा सरकार निरन्तर लागिपरेको उनको भनाइ छ। प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी १० करोड भन्दा नघट्ने गरी कोष समेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरण आदिमा सहयोग गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिपरेको बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुविधा सम्पन्न गोदाम घर राहत वितरण र विपद् व्यवस्थापनमा चुस्त र प्रभावकारी कार्यसम्पादनका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे।

अत्यावश्यक सामग्रीको सुरक्षित भण्डारण र समय मै वितरणमा यसले महत्त्वपूर्ण योगदान पु¥याउने उनको विश्वास छ। गोदाम घरको उचित व्यवस्थापनले प्रदेशको विपद् व्यवस्थापनमा थप मद्दत पुग्ने मुख्यमन्त्री पाण्डेले बताए। उद्धार कार्यलाई ‘एक द्वार प्रणाली’ मार्फत गर्दा सहज र प्रभावकारी हुने पनि उनको भनाइ छ।

विश्व खाद्य कार्यक्रम र युरोपियन युनियनको सहयोगमा तथा नेपाल सरकारको विपद् जोखिम व्यवस्थापन प्राधिकरणको समन्वयमा निर्माण गरिएको गोदाम घरमा भूकम्प, बाढी पहिरो जस्ता आपत्कालीन अवस्थाहरूमा आवश्यक पर्ने अत्यावश्यक सामग्रीको सुरक्षित भण्डारण गरिनेछ।