
काठमाडौँ । गत वैशाख १ देखि साउन ५ गतेसम्म देशभर भएका २ हजार ३२६ वटा विपद्जन्य घटनामा परी १०२ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यी घटनामा २० जना अझै बेपत्ता छन् भने ५१२ जना घाइते भएका छन्। यस अवधिमा कुल ४ हजार ३२३ परिवार विपद्बाट प्रभावित भएका छन्, प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिएका छन्।
मनसुनी विपद्सहित विभिन्न प्रकारका प्राकृतिक प्रकोपले जनधनको क्षति निम्त्याएको छ। बाढीका १५१ घटनामा १३ जनाको मृत्यु भएको छ र २० जना बेपत्ता भएका छन्, जसमा रसुवामा भएको बाढीको क्षति प्रमुख छ।
यस्तै, पहिरोका २०७ घटनामा ९ जनाले ज्यान गुमाएका छन् भने भारी वर्षाका १०३ घटनामा २ जनाको मृत्यु भएको छ। चट्याङका २२९ घटनामा २८ जनाको मृत्यु भएको तथ्यांक छ, जुन यस अवधिमा एकै प्रकारको घटनाबाट भएको सबैभन्दा ठूलो मानवीय क्षति हो।
अन्य विपद्हरूमा सर्पदंशका ६३ घटनामा ५ जना, आगलागीका ९७६ घटनामा १४ जना, हुरीबतासका २७३ घटनामा ८ जना, जनावर आक्रमणका १२१ घटनामा १२ जना, र लेक लागेका ३६ घटनामा ११ जनाको मृत्यु भएको छ। डढेलोका १५८ वटा घटना, भूकम्पका चार, डुङ्गा पल्टिएका दुई र असिनापानीका दुई घटनामा भने मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।
विपद्का यी घटनाले ठूलो संख्यामा परिवारहरूलाई प्रत्यक्ष असर पारेका छन्। बाढीले सबैभन्दा बढी १ हजार २५४ घरपरिवारलाई प्रभावित बनाएको छ।
पहिरोले २४१ परिवार, भारी वर्षाले ५४७ परिवार, चट्याङले २६४ परिवार, सर्पदंशले ७० परिवार, आगलागीले १ हजार ८९ परिवार, हुरीबतासले ५३१ परिवार, जनावरको आक्रमणबाट १८६ परिवार, लेक लागेर ३२ परिवार, डुङ्गा पल्टिएर ५ परिवार, असिनापानी र हुरीबाट ७७ परिवार प्रभावित भएका छन्।
यस वर्षको मनसुन अवधिमा विपद्को जोखिम अझै बढ्न सक्ने भएकाले सतर्क रहन र पूर्वतयारीका उपाय अपनाउनु आवश्यक देखिन्छ।







Facebook Comments