ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने रानी पुलस्थित बेलिब्रिज बाढीले बगाएको छ ।

अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । पुल बगेसँगै उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ । बाढीका कारण तमोर नदीको बहावसमेत बढेको उनले बताए । उक्त बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको थियो ।

अरुण नदी आसपासमा सतर्क रहन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षामापन भएका कारण अरुण नदीलगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेलले जानकारी दिए ।  

माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप वर्षाको सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ पोखरेलले बताए । भारी वर्षा भएका कारण अरुण नदीलगायत खोलानाला र जिल्लाभित्र बाढीपहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सो क्षेत्र भई बग्ने ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले  सो क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो ।