काठमाडौं । गत शुक्रबारदेखि भारत र नेपालमा समेत बलिउड फिल्म ‘सैयारा’ सिनेमा हलहरूमा चलिरहेको छ । भारत र नेपालमा पनि यसले उल्लेख्य व्यापार गर्न सफल भएको छ ।

मनोरञ्जन र व्यापारिक रुपमा मात्रै नभएर स्वास्थ्य दृष्टिकोणबाट पनि यसको चर्चा भइरहेको छ । यस फिल्ममा अभिनेत्री अनीत पड्डा मुख्य पात्रका रुपमा छिन् । उनले गीत लेखनमा संघर्षरत युवती वाणी बत्राको भूमिकामा निर्वाह गरेकी छिन् । उनलाई युवा उमेरमै अल्जाइमर(बिर्सिने रोग) को समस्या देखिएको छ ।

बलिउडको डेब्यू फिल्ममै उनले प्रभावशाली अभिनय गरेको भन्दै प्रसंशा भइरहेको छ । यो सिनेमाले धेरैको मनमा एउटा प्रश्न जन्माएको छ, के कसैलाई युवा उमेरमै अल्जाइमर हुन्छ ?

यो एक न्युरोलोजिकल डिस्अर्डर हो । यसमा व्यक्तिले तत्काल गरेको कुरा भुल्ने, चिनिरहेको मान्छेलाई पनि नचिन्ने, एउटै कुरा पटक–पटक दोहो¥याइरहने गर्छन् । अहिलेसम्म यो समस्याको कुनै उपचार पत्ता लागेको छैन ।

यो वृद्ध उमेरका व्यक्ति, प्रायगरी ६० वर्षमाथिका लाई मात्रै देखिने समस्या भएको बताइन्छ । यो फिल्मकी पात्र वाणी बत्रालाई युवा अवस्थाको सुरुवातमै अल्जाइमर देखिएको विषय उठान गरिएको छ ।

यस्तो सम्भावना निकै कम भएको तर हुँदैहुँदैन भन्न नसकिने विज्ञहरूको भनाइ छ ।

चीनमा २ वर्ष पहिला एक १९ वर्षीय किशोरलाई अल्जाइमर भएको पुष्टि भएको थियो । साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित खबर अनुसार क्यापिटल मेडिकल युनिभर्सिटीको बेइजिङस्थित जुआनउ अस्पतालका अनुसन्धानकर्ताहरुले यो पत्ता लगाएका थिए । दुई वर्षदेखि नै ती किशोरमा यसको लक्षण देखिएकाले १७ वर्षको उमेरमै उनलाई अल्जाइमर भएको अध्ययनकर्ताको भनाइ छ ।

यसलाई अल्जाइमर देखिने विश्वकै कम उमेरका व्यक्ति भएको दावी अनुन्धानकर्ताको छ । यस दावीमाथि अहिलेसम्म कतैबाट खण्डन भएको छैन ।

ती किशोरमा दुईदेखि बिस्तारै स्मरण शक्ति कम हुँदै गएको र अल्जाइमरका अन्य प्रारम्भिक लक्षण देखिएको थियो । उनको मस्तिष्क स्क्यान गरेर हेर्दा २ वर्षअघि देखि नै ती किशोरमा अल्जाइमको लक्षण देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

सैयारा फिल्ममा देखाइएको अल्जाइमर बारेको प्रसंगले भारतको चिकित्सा क्षेत्रमा पनि चर्चा पाइरहेको छ । चेन्नईस्थित एपोलो अस्तपालका डाक्टर सुधीर त्यागीले एक भारतीय मिडियामा बताए अनुसार विश्वमा ५ देखि १० प्रतिशतमा ६० वर्ष भन्दा कम उमेरमा अल्जाइमर देखिन सक्छ । 

वंशाणुगत कारण र अत्यधिक मात्रामा डिजिटल स्क्रिनको प्रयोग गर्दा पनि युवाहरूमा बिर्सने रोग देखापर्ने उनको दावी छ । युवामै यो समस्या देखिनु भनेको निकै दुर्लभ रहेको त्यागीको भनाइ छ ।

जेष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कँडेल पनि युवामा अल्जाइमर देखिनु दुर्लभ मात्रै रहेको बताउँछन् । कतै कसैलाई देखियो भने त्यो अपवाद मात्रै होला तर यो वृद्ध उमेरमा मात्रै देखिन्छ ।

अल्जाइमर रोग देखिनेमा ९५ प्रतिशत ६० वर्ष भन्दा माथिका नै रहेको डा.कँडेलको भनाइ छ ।

बाँकी ५ प्रतिशतमा पनि अधबैंसे उमेरका व्यक्तिलाई देखिने उनले बताए । नेपालका पहिलो जेष्ठ नागरिक रोग विशेषज्ञ रहेका कँडेलले आफूले अहिलेसम्म अल्जाइमर देखिएका सबैभन्दा कम ५० वर्ष उमेरका बिरामी मात्रै भेटेको जानकारी दिए ।

कम उमेरमा अल्जाइमर देखिनु भनेको मुख्यगरी वंशाणुगत कारण रहेको उनले सुनाए ।

२०–३० वर्षको उमेरमै कसैलाई बिर्सने रोग देखिन्छ भने त्यो अल्जाइमर नभएर अन्य कारणल हुने डा.कँडेलले जानकारी दिए ।

उनका अनुसार कसैलाई डप्रेसनले पनि बिर्सिने हुनसक्छ भने कसैलाई मस्तिष्कमा ट्युमरको कारणले हुन सक्छ ।

डाउन सिन्ड्रोम हुने बालबालिका मध्ये कसैलाई पछि २०–३० वर्षको उमेरमा बिर्सने रोग देखा पर्न सक्छ । यसरी अन्य विभिन्न कारणले बिर्सने समस्या हुने भए पनि अल्जाइमर नै भने वृद्ध अवस्थाकै रोग रहेको डा.कँडेलले स्पष्ट पारे ।

‘केही नभइकन अल्जाइमर आफैँ भने वृद्ध अवस्थामा मात्रै देखिन्छ’ डा.कँडेलले भने, ‘कसैलाई युवा अवस्थामै देखियो भने त्यो अपवाद मात्रै हो ।’  (अनलाइन खबर)