काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सागमा अत्यधिक विषादी देखिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले बुधबार गरेको परीक्षणमा सागमा खानै नमिल्ने स्तरको विषादी भेटिएको हो ।

कालीमाटी फलफूल बजारमा गरिएको परीक्षणमा पसलमा बेच्न राखिएको सागमा ८०.९५ प्रतिशत कीटनाशक विषादी देखिएको हो । प्रयोगशाला एकाइका अनुसार, ३५ प्रतिशतभन्दा कम कीटनाशक विषादी देखिएमा उपयोगयोग्य मानिन्छ । यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म देखिए केहीदिन राखेर उपभोग गर्न मिल्छ । तर, ४५ प्रतिशतभन्दा बढी कीटनाशक विषादी देखिए बिसर्जन गर्नुपर्ने पनि प्रयोगशालाले जनाएको छ ।

प्रयोगशाला एकाइले कार्यामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको मात्र परीक्षण गर्ने गरेको छ । अन्य विषादी र रसायनको हकमा नतिजा लागु नहुने प्रयोगशालाले जनाएको छ ।