
बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरूको सपनामाथि तुषारापात भएको बताएका छन् ।
मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसीन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरेसँगै विभाजन चाहनेहरूको सपना तुहिएको बताए ।
पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बुधबार बुटवलको आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष समेत रहेका पौडेलले यस्तो बताएका हुन् । “एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरूले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोसिस गरिरहेका थिए, तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरूको सपनामाथि तुषारापात भएको छ”, पौडेलले भने,“पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोसिस गर्ने तत्त्वहरू सपना विफल भएको छ ”।
अर्थमन्त्री पौडेलले चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको बताए । उनले देशलाई अस्थिर बनाइराख्ने तत्त्वहरूले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरू गरिरहेको उल्लेख गर्दै तर सरकारले यी सबै प्रयत्नलाई चिर्दै अगाडि बढिरहेको बताए ।
उनले काँग्रेस–एमाले गठबन्धन मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको भन्दै आगामी ०८४ सम्मै यो गठबन्धन कायम रहने पनि बताए ।







Facebook Comments