काठमाडौँ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको ‘फूल हाउस’ मै दफावार छलफल गरी पारित गर्ने अडानबाट सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले) पछि हटेको छ ।

सत्ता साझेदार नेपाली कांग्रेसले विधेयक हतारमा पास गर्न नहुने र दफावार छलफलका लागि समितिमा पठाउने अडान सामु एमाले झुकेको हो ।

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिले साउन १५ गतेसम्मको पाक्षिक क्यालेन्डर सार्वजनिक गर्दा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् वा सदनमा गरियोस् भन्ने वाक्यांश राखिएको छ ।

यसअघि एमालेले ‘फूल हाउस’ मै गर्नुपर्ने अडान राख्दै आएको थियो । भूमि विधेयक फास्ट ट्र्याकबाट पारित गरिनुपर्ने भनाइ एमालेको रहँदै आएको थियो ।

सत्ता गठबन्धनमा नै दरार सृजना हुने देखिएपछि एमाले पछि हटेको हो । सरकारले फास्ट ट्रयाकबाट पारित गर्न खोजेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनु पर्ने माग कांग्रेसको थियो ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फास्ट ट्र्याकबाट विधेयक पारित गर्न नमिल्ने बताउँदै आएका छन् ।

नेता डा. शेखर कोइरालाले बुधबार नै सामाजिक सञ्जालमा सरकारले भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजेपछि आशङ्का उब्जिएको बताएका थिए ।

कांग्रेसले मंगलवार भूमि व्यवस्था मन्त्री बलराम अधिकारीसँग संसदीय दलको बैठकमा छलफल गर्दै दफावार छलफल सदनमा गर्दा कांग्रेसको साथ रहन नसक्ने बताएको छ ।

अहिले बसिरहेको प्रतिनिधिसभा बैठकमा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् ‘वा’ सदनमै दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने विकल्पसहित मध्यान्ह बसेको कार्या व्यवस्था परामर्श समिति बैठकले साउन १५ गतेसम्मको क्यालेन्डर तयार गरेको हो ।

कांग्रेस सदनमै दफावार छलफल गरेर विधेयक पारित गर्ने सरकारको प्रस्तावमा सहमत नभएपछि कार्यसूचीमा चढेको विधेयक गत असार २४ गते एकाएक हटाइएको थियो । हटाउनुलाई विशेष कारण भनिएको थियो । भूमि विधेयकका कतिपय प्रावधानमा असहमति राख्दै उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।