काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस–एमालेको संयुक्त सरकारले भ्रष्टाचार गर्न टेण्डर पाएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन्। अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिस्पर्धा भइरहेको उनको भनाइ छ।उनले वर्तमान सरकारका एकदुई जना नभएर दर्जनबढी मन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने पनि बताए। उनले पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न जटिल हुँदै गएको बताए। 

उनले केही कर्मचारीलाई कारबाही गरेर मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउन जरुरी रहेको बताए। उनले भिजिट भिसा प्रकरणमा दुई विपक्षी दलहरू आन्दोलनमा रहँदा समेत सरकार गम्भीर नभएको भन्दै संवादका लागि अग्रसर हुन आग्रह गरे।