
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचार नियन्त्रणका लागि ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने राष्ट्रिय संकल्पप्रति पूर्ण रूपमा प्रतिबद्ध र दृढ रहेको बताएका छन्।
उनले हल्ला, सामाजिक सञ्जालका स्टाटस वा कसैले बोलेको भरमा मात्रै कारबाही नहुने तर तथ्य र प्रमाणका आधारमा जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे बुधबार संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।
उनले भ्रष्टाचार नियन्त्रणका विषयमा सरकार असहिष्णु नै हुने बताए। ‘अलिकति मात्रै पनि गम्भीर आशंका उत्पन्न नहुँदै मैले असहिष्णुताको नीति लिनैपर्छ,’ उनले भने, ‘अथवा, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिनैपर्छ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको विषयमा केही मानिसहरूले आफूमाथि अनावश्यक लाञ्छना लगाउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘केही मानिसहरूको फेसन नै बनेको छ, प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाईकन नहुने। त्यस्ता मान्छेहरूले कहिले पशुपतिमा पित्तल चढायो भनेर हल्ला गर्छन्’ उनले भने, ‘त्यस्ता कुराहरूपट्टि म धेरै वास्ता गर्दिनँ र चित्त पनि दुखाउँदिनँ, किनभने त्यो ह्याबिटको कुरा हो।’
उनले तीनै तहका सरकारका कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति वा पदाधिकारी कानुनभन्दा माथि नभएको र कहीँकतै आर्थिक विचलन वा अनुचित व्यवहार देखिएमा कानुनबमोजिम कारबाही भइरहेको र भविष्यमा पनि हुने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले सुशासनका दुई प्रमुख आधार भ्रष्टाचार नियन्त्रण र जनतालाई सहज रूपमा सेवा प्रवाह गर्नु रहेको बताए।‘जनतालाई सही ढंगले, समयमा र सजिलोसँग सेवा डेलिभरी गर्नु नै सुशासन हो,’ उनले भने, ‘यी दुई कुरामा मेरो नेतृत्वको अहिलेको सरकारको गम्भीरतापूर्वक ध्यान गएको छ र गइरहन्छ।’







Facebook Comments