काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा सरकारले खानेपानीको व्यवस्था छिट्टै गर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले सिँचाइको प्रबन्ध युद्धस्तरमा गरिने स्पष्ट पारे ।

“छिट्टै नै डिपबोरिङ, सिँचाइको प्रबन्ध जे गर्न सकिने हो, युद्धस्तरमा सरकारले गर्छ,” उनले भने । प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण शक्ति प्रयोग गरिने बताए । आवश्यक परे नेपाली सेनासमेत परिचालन गरिने उनको भनाइ छ । उनले समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

उनले तराईमा पानी कम परेर रोपाइँ हुन नसकेको जनाए । “जहाँ रोपाइँ भएको छ, त्यहाँ धाजा फाटेको छ,” उनले भने । उनका अनुसार, मन्त्रिपरिषद्ले मधेसलाई प्राकृतिक विपद्‌ग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । आपत्‌कालीन ढंगले बजेटको व्यवस्था गर्न सकिने पनि उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले केही अल्पकालीन र दीर्घकालीन उपाय अवलम्बन गरिने बताए ।