झापा । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एकजनालाई कनकाईको सडक किनारमा र अर्कालाई विर्तामोडमा सुँगुर फार्ममा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार विहिबार बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् । शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उनले बताए । उनी कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए ।
यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन् । मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ ।
स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुङ्गुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए । उनको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
'मृत दुवैले अत्यधिक मदिरा सेवन गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ,' जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले भने ।







Facebook Comments