
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सुख्खाग्रस्त मधेसका महोत्तरी र बारा जाँदैछन् । बिहान १०ः३० बजे काठमाडौंबाट महोत्तरीको मटिहानी नगरपालिका प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीले सो नगरपालिकाको विग्ही नदीमा बनेको पुल ११ः३० मा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि सो कार्यक्रममा अतिथिको रूपमा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सोही नगरपालिकामा निर्माण भएको प्रसूति गृहको उद्घाटन र त्यहाँ आयोजित सभालाई प्रधानमन्त्रीले मध्यान्ह १२ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले आजै दिउसो १ः४० बजे जनकपुर-कुर्था-सम्सी सडक खण्डको रौजा स्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम छ । दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन र त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त मधेसको स्थलगत निरीक्षण र मधेशका किसानसँग भेटघाट गरेर उनीहरूका समस्या सुन्ने कार्यक्रम रहेको छ ।‘साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँका वस्तुस्थिति हेरौँ र स्थानीय किसानका कुरा सुनौँ भन्ने लागेको छ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बाराका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।’







Facebook Comments