सर्लाही । मौसम पूर्वानुमान महाशाखाले यस वर्ष विगतकोभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । देशका अन्य भूभागमा पानी परिरहेको भए पनि मधेसमा मौसम राम्रोसँग बदली हुन सकेको छैन ।

असार खडेरीमा बितेको मधेसमा धान रोपाइँ प्रभावित त भयो नै, खानेपानीकोसमेत सङ्कट गहिरिन थालेपछि चौतर्फी चिन्ता बढेको छ । आकाशको पानी पर्न नसकेपछि भूमिगत जलसतह  गहिरिँदै गएको तथ्याङ्कले देखाएको छ ।

तराई मधेसको अहिलेको टड्कारो चिन्तासँगै अर्को विपत्तिको आँकलन स्थानीयले गर्न थालेका छन् । साउनको पहिलो हप्ता बित्नैलाग्दा झरी नदेखेका स्थानीय अब हुने वर्षाको रूप कस्तो होला भनेर चिन्तित बनेका हुन् ।

यस वर्ष विगतकोभन्दा धेरै वर्षा हुने मौसम विज्ञहरूको यस पहिलाकै चेतावनी हो । यस अर्थमा यस वर्ष मधेसमा हुने वर्षा सामान्य हुनेछैन । असारभरि पानी पर्न नसकेको तराईमा साउनको पहिलो हप्ता पनि उस्तै गरी टर्ने हो की भन्ने चिन्ताले स्थानीयवासी चिन्तित छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–१३, सेती भिरका सन्तबहादुर रखाल मगरले यस वर्षको मौसमी अवस्थालाई ३२ वर्ष पहिलाको विपत्तीको पूर्वसङ्केतसँग तुलना गर्छन् । यसरी ढिलोगरी भएको वर्षाले वितण्डा ल्याउने उनको अनुमान छ ।

“विसं २०५० मा पनि यस्तै भएको थियो”, उनले स्मरण गरे, ‘‘असार पूरै सुक्खामै टरेको थियो । किसान खेती गर्न नपाएपछि अनिकालको चिन्ता गर्दै थिए । एक्कासी साउन ५ गते रातिबाट मुसलधारे वर्षा सुरु भयो । तीन दिन तीन रात आकाशले आँखै उघारेन । त्यसपछि देशको चारैतिर तहसनहसबाहेक केही थिएन ।” यस वर्ष पानी नपरेपछि धान रोप्न नपाएको उनमा चामल किनेर खानुपर्ने चिन्तासँगै प्रतिकूल मौसमको डर देखिन्थ्यो ।

“आफूले गरेको खेतीबाट चामल खान कहिले खाँचो भएको थिएन”, उनले भने, “यसपाला किनेर खानुपर्ने भयो ।” अन्नको जोहोभन्दा पनि मौसमको अबको वितण्डा के हुने ? भन्ने चिन्ताले उनलाई थप सताइरहेको छ ।

भौगोलिक अवस्थिति नबुझी बसेका वा बसाइएका मानव बस्ती र गरिएको विकासले प्राकृतिक विपत्तिको ठूलो जोखिम निम्त्याइरहेको जिल्लास्थित मानव अधिकार आयोगका प्रतिनिधि तथा पूर्वप्रधानाध्यापक रजनीकान्त झा बताउँछन् ।

“यस्ता प्राकृतिक विपत्तिको मूल्याङ्कन मानिसले घर बनाउने, बसोबास गर्ने बेलामा गर्दैनन्”, उनले भने, “जहाँ खाँबो गाड्न मिल्छ त्यही घर बनाइहाल्ने प्रचलनले हामी आफैँले विपत्ति निम्त्याइरहेका छौँ ।” पानीको निकासा छेक्ने, सिमसार क्षेत्र पुर्ने, भिर काटेर घर बनाउनेजस्ता व्यवहारले पहिरो, डुबान, बाढीजस्तो चपेटामा पर्ने र जोखिम बढ्ने गरेको उहाँको भनाइ छ । यसतर्फ राज्यका कुनै निकायले ध्यान नदिएको झा बताउँछन् ।

“सङ्घीयता कार्यान्वयनपछि गठित स्थानीय तहले गरेका विकासमा झन् कुनै निकास छैन”, नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले भने, “जनप्रतिनिधि, ठेकेदार, अप्रेटर सबै इञ्जिनियर उहाँहरु आफैँले आफ्नो हिसाबले विकास गर्नुभएको छ । प्रकृतिले आफ्नो हिसाबले विनाश गर्ने पक्का छ ।” प्राकृतिक हिसाबले बगेका खोला र खहरेलाई मानिसले तीव्र गतिमा आफ्नो स्वार्थअनुसार घुमाउने, खुम्च्याउने, पुर्ने गर्दा जोखिम बढेको उहाँले बताउनुभयो ।

तराईको ठाउँमा पानीले निकास नपाउने हुँदा प्रत्येक वर्ष गाउँबस्ती डुबानमा पर्ने गरेको छ । धेरै खहरे खोला र सदाबहार नदीहरू उर्लिएर गाउँबस्तीमा पस्ने गरेका छन् । विपद् व्यवस्थापन समिति सर्लाहीले तयार गरेको प्रतिवेदनअनुसार सर्लाहीमा बागमती, लखन्देखी, झिमलगायतका नदी तथा त्यसका सहायक खोलाहरू एकादशी, मनुसमारा, सोतीलगायतले जिल्लामा ठूलो भू–भाग र त्यसमा बसोबास गर्दै आएका नागरिकलाई प्रभावित पार्दै आएको छ ।

जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, विष्णु गाउँपालिका, गोडैता नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र मलङ्गवा नगरपालिकामा यी नदीले बालीनालीमासमेत ठूलो क्षति पुर्‍याउने गरेको विगतको तथ्याङ्क छ । वर्षौंदेखि स्थानीयलाई दुःख दिँदै आएका यस्ता खोला तथा खहरेको क्षति आँकलन गरेर गरिने पूर्वतयारीमा स्थानीय तह भने मौन बस्ने गरेका छन् ।

जनप्रतिनिधिसमेत हरेक वर्षा नागरिकको गाँस र बास गुमेपछि राहतको ललिपप बोकेर निर्लज्ज भएर गाउँ आउने गरेका बरहथवा नगरपालिका–५ का दिनेश महतोले गुनासो गरे ।

केही वर्ष पहिलासम्म खुला भएर बग्ने आफ्नो घर अगाडिको सोती खोलाले पानी परेपछि मच्चाउने वितण्डा सम्झेर उनी चिन्तित छन् । “विगतका वर्षमा नै यो खोला घर उर्लिएर आउँथ्यो”, उनले भने, “यस वर्ष नगरले विकास गर्ने नाममा आधा खोला पुरेर बाटो बनाएको छ । अब के हुने हो थाहा छैन ?”