
काठमाडाैँ । कृष्णपुर नगरपालिका–१ मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ। गत साता महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाईं (आउजी) को सर्पदंशका कारण मृत्यु भएपछि छाउगोठ भत्काउन सुरु गरिएको हो।
वडाको निगाली र दोमिल्लाको श्रीपुर टोलमा रहेका छाउगोठ भत्काउने कार्य हुन थालेको कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले जानकारी दिए। उनका अनुसार दुवै ठाउँमा गरी हालसम्म १५ वटा छाउगोठ भत्काइएका छन्। छाउगोठ भत्काउनका लागि समिति गठन गरेर परिचालन गरिएको उनले जानकारी गराए।
समितिले समुदायमा महिनावारीका बारेमा सचेतना फैलाउने काम गरिरहेको वडाध्यक्ष बस्नेतले जनाए। स्थानीय स्वतस्फुर्त रूपमा छाउगोठ भत्काउने अभियानमा संलग्न भइरहेका जनाउँदै उनले छाउगोठ भत्काउन अटेरी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने उल्लेख गरे। पहाडी क्षेत्रमा पनि छाउगोठ भत्काउन सुरु गरिने उनको भनाइ छ।







Facebook Comments