
काठमाडौँ । महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान गरे प्रत्येकपटक पाँचसय जरिवाना गर्ने काठमाडौं महानगरपालिकाले बताएको छ। हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो।
काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्याधिक धुम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। पाण्डेकाअनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ्ग गरे सबै किसिमका तीनपारी सवारी साधन मोटरसाइकल स्कुटरलाई एकहजार जरिवाना गरिनेछ।
सबै किसिमका चारपाङ्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिनेछ। मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिवाना गरिँदैछ। सबै किसिमका ठूला सवारी साधन बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ।
प्रचलित कानूनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ। विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एकलाखसम्म जरिवाना हुन सक्नेछ।
पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार सामग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिबाना तोकिएको छ। खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्वीकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ।
सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ। सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, विरुवामा क्षति पुर्याएमा पाँचसयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ।







Facebook Comments