सुर्खेत । शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको आफ्नै घरमा विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
शुक्रबार बिहान घाइते भएका उनीहरू दुवैलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो। करेन्ट लागेर घाइते भएका उनीहरू दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) मोहनजंग बुढथापाले बताए।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार घाँस काट्ने विद्युतीय मेसिनमा रहेको विद्युत् लाइनमा समस्या आएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। पछिल्लो समय सुर्खेत लगायत कर्णालीमा करेन्ट लागेर मृत्यु हुने क्रम बढ्दो छ। सरकारले विद्युतीयबारे सचेतना फैलाउनुपर्ने स्थानीयहरूको भनाइ छ।







Facebook Comments