
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर अर्थतन्त्रलाई सुधार गर्दै देशमा ठूलो प्रगति भएको बताएका छन् ।
'विगतका ३/४ वर्षमा ओरालो लागेको अर्थतन्त्रलाई पछिल्लो १ वर्षमा सुधार गरिएको छ,' उनले भने,‘पहिले वर्ष दिनमा ९/१० वटा पुल तथा सडकहरु बन्थ्यो । गत वर्ष साउनदेखि अषाढसम्म ९ सय ५० पुल बनेको छ । जिल्लाहरु सडकले जोडिएको छ ।’ पहिले सडक संरचना ध्वस्त रहेको उल्लेख गर्दै उनले अहिले १५ हजार किलोमिटर सडक कालोपत्र गरिसकेको बताए ।
मटिहानीसँग जनकपुर जोड्ने बिग्ही पुल उद्घाटन गर्दै प्रानधमन्त्री ओलीले मधेशमा हुलाकी सडक निर्माणले विकासमा गति लिएको बताए । ‘महोत्तरी भेट्न, हेर्न, वस्तुस्थिति बुझ्न मात्रै होइन, यस ठाउँको लागि केही गर्न आएको छु,’ उनले भने,‘हुलाकी सडक निर्माणले मधेशको दक्षिण भाग चलायमान बनेको छ । हुलाकी सडकले मधेश/तराईको दक्षिण भाग अनुकूल बनाउन यतायातसँग जोडिएको छ । सहरीकरण गर्न, विकासका काम अगाडि बढाउन र यहाँका जनतालाई धनी बनाउन, औद्योगीकरण बनाउन, भन्सारहरुलाई चलायमान बनाउन, हुलाकी सडकलाई सरकारले प्राथमिकता दिएको छ ।’
चौतर्फी विकासका लागि शिक्षामा जोड दिन ओलीले आग्रह गरे । 'छोराछोरीमा भेद्भाव नगरी शिक्षामा ध्यान दिनु पर्ने समय आएको छ,' उनले भने,‘जहाँ शिक्षा छ, त्यहाँ विकास र सम्पन्नता छ, जहाँ शिक्षा छैन, त्यहाँ विकास छैन, गरिबी छ ।’
प्रधानमन्त्री ओलीले शुक्रबार महोत्तरीमा बिग्ही नदी र रातु नदीमा निर्माण भएका दुई पुल र मटिहानी-६ मा निर्माण भएको प्रसूति गृह उद्घाटन गरेका छन् ।







Facebook Comments