धनगढी । गयरातिदेखिकाे अबिरल बर्षाका कारणा बझाङको बुंगल नगरपालिकामा बाढी र पहिरोले भौतिक संरचनामा क्षति पुर्याएको छ। नगरपालिकाकाे ७ नम्बर वडाकाे घट्ठे खोलामा आएको बाढी र पहिरोले स्थानीयको घर, पानी घट्ट, सिँचाइ कुलो र मन्दिरमा क्षति पुर्याएको हो।
उक्त बाढीपहिराेले कुनै मानवीय क्षति भने नभएको उपमेयर धनबहादुर बोहराले बताए । उनकाअनुसार, वडा नम्बर ७ को बीचमा रहेको घट्ठे खोलाको मुहानमा निकै ठाडो जमिन छ। रातभरि परेको वर्षाका कारण माथिबाट पहिरो खस्यो। त्यो पहिरो पानीसँग मिसिएर लेदो बन्यो र बाढीको रूपमा उर्लिएर बग्दा ठूलो विनाश निम्त्यायो।
‘त्यो पहिरो पनि, बाढी पनि जस्तो भयो,’ उनले भने, 'पुरै लेदो बनेर त्यसले क्षति गर्यो।' बाढीले स्थानीय कृष्णराज जोशीको घर पूर्ण रूपमा पुरेको छ। उनको घर अब बस्न नमिल्ने गरी क्षति भएको र छानोमा भएका स्लेटहरू मात्र निकाल्न बाँकी रहेको बोहराले बताए।
यस्तै डिला लोहार र ओकिल लोहारको घर, शौचालय र धान कुट्ने मिलमा पनि क्षति पुगेको छ। उनीहरूको घरमा भएको अन्नपात पनि बाढीले नष्ट गरिदिएको छ।
बाढीले ६ वटा पानी घट्ट र तिनका कुलोहरू पूर्ण रूपमा बगाएको छ भने करिब आठ वटा सिँचाइ कुलो पनि नष्ट भएका छन्।
यसैगरी वडा ७ का अध्यक्ष टंकप्रसाद जोशीको पसलभित्र पनि बाढीको लेदो पसेको छ। स्थानीयको आस्थाको केन्द्रको रूपमा रहेको दहजार मन्दिरको परिसर समेत पूरै लेदोले ढाकेको र मन्दिरको टुप्पो मात्र देखिने अवस्थामा रहेको जानकारी आएको बोहराले बताए।
बुंगल नगरपालिका बाढी र पहिरो दुवैको हिसाबले उच्च जोखिममा रहेको उपमेयर बोहरा बताउँछन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठुगन्नाका अनुसार बिहान खवर प्राप्तपछि प्रहरी टोली घटनास्थलमा गएको थियो। अहिले घटनास्थलमा मुचुल्का तयार गर्ने काम भइरहेको उनले बताए ।







Facebook Comments