
इजरायल । इजरायलमा रहेका नेपाली समुदायका सदस्यहरूले हमासद्वारा अपहरणमा परेका नेपाली छात्र विपिन जोशीको तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्। इजरायलको तेल अविभस्थित किडन्याप स्क्वायरमा आयोजित सभा तथा र्यालीमा सहभागी हुँदै उनीहरूले जोशीको रिहाइको माग गरेका हुन्।
२३ वर्षीय जोशी ७ अक्टोबर २०२३ को हमास आक्रमण हुनु तीन हप्ता अगाडि मातै कृषि अध्ययनका लागि इजरायल आएका थिए। उनी विशेष शैक्षिक कार्यक्रमअन्तर्गत दक्षिण इजरायलको एक किब्बुट्जमा कार्यरत थिए। ७ अक्टोबरको बिहान हमासले गरेको भीषण आक्रमणका क्रममा उनी अन्य धेरै विदेशी श्रमिक र स्थानीय इस्रायलीहरूसहित गाजामा अपहरणमा परेका थिए।
यो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए। विपिन भने घटनास्थलबाट बेपत्ता भएका र पछि हमासको कब्जामा रहेको पुष्टि भएको हो।
आन्दोलनमा सहभागी नेपाली समुदायका सदस्यहरूले “Bring Him Home No” लेखिएका पोस्टर, नेपालको झण्डा र विपिनको तस्बिरसहित र्यालीमा सहभागी भएका थिए। ५० हजार बढिको उपस्थिति रहेको उक्त र्यालीमा अन्य इजरायलीहरू पनि सहभागी थिए। 'हामीले विपिनलाई घर फर्काउनैपर्छ। हामी सबै बन्धकलाई अब घर फर्काउनैपर्छ'भन्दै प्रदर्शनका क्रममा उनीहरूले नारा लगाएका थिए।
नेपाली समुदायले विपिन मात्र नभइ हमासको नियन्त्रणमा रहेका सबै ५० जना बन्धकहरूको सुरक्षित रिहाईको माग पनि गरेका छन् ।







Facebook Comments