काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले निजामती सेवा विधेयकमाथि भएको जालसाजीमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद कृष्णप्रसाद अधिकारीले प्रतिनिधि सभाबाट सर्वसम्मत पास भएको निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड राख्ने व्यवस्थामा जालसाजी भएको र त्यसपछिका घटनाक्रममा एमालेको संशोधन आउनुले शंका उत्पन्न गरेको बताए ।

प्रतिनिधि सभामा छानबिन चलिरहँदा राष्ट्रिय सभामा एमालेले राखेको संशोधन प्रस्तावले प्रधानमन्त्रीकै भूमिका माथि प्रश्न उठेको भन्दै उनले छानबिनको माग गरेका हुन् । 

सांसद घनश्याम रिजालले पोखराको जग्गा प्रकरण र भ्रष्ट्राचार लेनदेनको अडियो सार्वजनिक हुँदासमेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई कारवाही नभएको भन्दै बर्खास्त गर्न माग गरेका छन्।

सांसद कमला पन्तले देशमा सुशासन हराएको भन्दै भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन मिलेको बताइन् । वायुसेवा निगममा बेथिति प्रकरणमा अख्तियार प्रमुखमाथि प्रश्न उठेकोबारे सरकार र सदन बोल्नुपर्ने माग उनकाे रहेकाे छ ।