काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले हेलिकोप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने बताएकी छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित अभिव्यक्ति दिएकी हुन् ।

'खडेरी पर्‍यो भनेर हेलिकोप्टरमा हेर्न जाँदैमा मधेसमा पानी आउँदैन । चुरेको कुरा जोडिन्छ,' उनले भनिन् । उनले चुनावदेखि चुनावको मात्रै हेरेर समस्याको समाधान नहुने बताइन । 'मधेसमा भएको अभावलाई हेरौँ । यसमा जोडिन्छ । निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन,' उनले भनिन् ।

प्रधानमन्त्री ओली साउन ७ गते मधेस पुगेका थिए । अर्को प्रसंगमा श्रेष्ठले सार्वजनिक जग्गामा आँखा नलगाउन सरकारलाई आग्रह गरिन् । उनले वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा खारेजको माग गरेकी छन् ।