काठमाडौँ ।  मनसुनी वायु थप सक्रिय हुँदा बितेको २४ घण्टामा काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । केही दिनदेखि सामान्यबाहेक पानी नपरिरहेको बेला हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको हो । तर खडेरीको चपेटामा परेको मधेश प्रदेशमा भने सामान्य वर्षा मात्रै भएको छ ।

जल तथा मौसम विज्ञान विभागको प्रणालीले देखाएको विवरण अनुसार बितेको २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नुर्पुगाउँमा १ सय ३१ मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै धनकुटामा १ सय १३ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । काठमाण्डौ, नुवाकोट, लमजुङलगायतका जिल्लामा पनि २४ घण्टामा ८० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ ।

तर मधेशमा भने सबैभन्दा धेरै सर्लाहीमा २७ मिलिमिटर वर्षा मापन भएको छ । सुक्खा लागेको मधेशमा २४ घण्टामा कम्तीमा १ सय मिलिमिटर वर्षा नभई किसान तथा स्थानीय बासिन्दालाई राहत नपुग्ने मौसमविद्हरू बताउँछन् ।

अहिले कोशी र सुदूरपश्चिमको तराई क्षेत्र, गण्डकी र लुम्बिनीको पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । देशका अरू भेगका केही ठाउँमा सामान्य वर्षा भए पनि ठूलो पानी परेको छैन ।

आज राति गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँहरूमा तथा तराई भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।