
जनकपुर । मधेस प्रदेश सरकारले घरधुरी बिमा र नागरिक बिमा कार्यक्रम सञ्चालन गरेको छ। सामाजिक सुरक्षा र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित साउन १ गतेदेखि औपचारिक रूपमा लागू हुने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकलाई बिमाको दायरामा ल्याइएको मधेस प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झाले जानकारी दिए।
'यस कार्यक्रमअन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बिमा सुरक्षा व्यवस्था गरिएको छ, जुन प्रदेश सरकारको सामाजिक सुरक्षा नीतिमा ठूलो उपलब्धि हो,' उनले भने, 'मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारद्वारा अगाडि सारिएको यो बिमा योजना आम नागरिक र सीमान्तकृत वर्गलाई प्राकृतिक विपद्, दुर्घटना तथा आकस्मिक मृत्युजस्ता घटनाबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो।'
घरधुरी बिमाअन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी-हुरी र अन्य आपतकालीन घटनामा हुने क्षतिको क्षतिपूर्ति दिइने जानकारी दिँदै उनले नागरिक बिमा १० लाखसम्म र घरधुरी बिमा ५ लाख रुपैयाँसम्मको गरिएको बताए।
उनका अनुसार नागरिक बिमाअन्तर्गत आकस्मिक मृत्यु, शारीरिक अपाङ्गता, दुर्घटनाजन्य घाइते समेत समेटिएको छ।
बिमा दाबीका लागि साक्षीसहितको निवेदन, प्रहरी प्रतिवेदन वा अस्पतालको रिपोर्ट, स्थानीय पालिकाको सिफारिस र प्रदेशको नागरिक भएको प्रमाण आवश्यक पर्नेछ। यसरी पारदर्शी र सहज कार्यविधिमार्फत पीडितले राहत प्राप्त गर्न सक्ने सरकारको दाबी छ।
'यो सामाजिक न्याय र नागरिकको सुरक्षित भविष्य प्रदेश सरकारको प्राथमिकता हो,' प्रेस सल्लाहकार झाले भने, 'बिमा कार्यक्रम केवल सहानुभूति होइन, नागरिकप्रतिको राज्यको दायित्व र जिम्मेवारी पनि हो।'
मधेस प्रदेशले पहिलो पटक यस्तो व्यापक बिमा कार्यक्रम लागू गरेकोले यसबाट दिगो सामाजिक सुरक्षा प्रणाली निर्माणमा टेवा पुग्ने विश्वास सरकारको छ। 'नागरिक बिमा र घरधुरी बिमाबाट सुविधा लिन प्रदेशले नागरिकसँग सरकारले आग्रह गरेको छ।'







Facebook Comments