काठमाण्डाैँ । देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको 4G तथा VoLTE सेवामा मंगलबार दिउँसोदेखि समस्या देखिएको छ। लाखौं ग्राहक इन्टरनेट सेवाबाट वञ्चित भएका छन्।

टेलिकमका अनुसार  दिउँसो करिब २ बजेदेखि 4G तथा VoLTE सेवामा प्राविधिक समस्या उत्पन्न भई इन्टरनेट सेवा अवरुद्ध हुन गएको हो।

सेवा अवरुद्ध भएपछि सामाजिक सञ्जाल प्रयोगकर्तादेखि अनलाइन भुक्तानी र ‘राइड सेयरिङ’ सेवामा निर्भर हजारौं सेवाग्राही प्रत्यक्ष मारमा परेका छन्।

टेलिकमले कम्पनीको 2G तथा 3G सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ। 4G र VoLTE सेवामा देखिएको समस्यालाई यथाशीघ्र समाधान गर्न प्रयास भइरहेको कम्पनीले जनाएको छ।

प्राविधिक समस्याको ठोस कारणबारे कम्पनीले विस्तृत जानकारी दिएको छैन। तर, समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर खटिरहेको जनाएको छ।